लमजुङको दोर्दी गाउँपालिकाका विद्यालयमा पढाई शुरु

लमजुङको दोर्दी गाउँपालिकाका विद्यालयमा पढाई शुरु
आइतवार, अशोज ११, २०७७

लमजुङ – लमजुङको दोर्दी गाउँपालिकाका विद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पठनपाठन शुरु भएको छ ।

कोभिड–१९ का कारण बन्द रहेको करिब छ महिनापछि सुरक्षा मापदण्डसहित सिकाइ सहजीकरणका लागि गाउँपालिकाभरीका सबै विद्यालयमा पठनपाठन भएको गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत भीमप्रसाद लामिछानेले बताए ।

लामिछानेका अनुसार यही असोज ५ गते गाउँपालिकाका सम्पूर्ण विद्यालयका प्रावि, निमावि र मावि तहको प्रधानाध्यापकबीच बैठक र असोज ६ गते पुनः गाउँपालिका शिक्षा समितिको बैठक बसी अघिल्लो बैठकमा गरिएको निर्णयलाई पूर्णता दिँदै विद्यालय सञ्चालन गर्न लागिएको छ ।

कोरोना भाइरसका कारण बालबालिकाको शिक्षामा परेको असरलाई ध्यानमा राखी विद्यालय सञ्चालन गर्न लागिएको उक्त शिक्षा शाखाले जनाएको छ ।

२० जनाभन्दा कम विद्यार्थी रहेको प्रावि तहको विद्यालयमा नियमित रुपमा पठनपाठन शुरु भएको छ । सोभन्दा धेरै विद्यार्थी रहेका निमावि र मावि विद्यालयमा जोरबिजोरका आधारमा सिकाइ सहजीकरण गरिन भएको छ ।

फाइल फोटो