विदेशमा अलपत्र नेपालीको निःशुल्क उद्धार गर्न आग्रह

विदेशमा अलपत्र नेपालीको निःशुल्क उद्धार गर्न आग्रह
सोमवार, अशोज १२, २०७७

काठमाडौं-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।

भर्चुअल माध्यमबाट दुई दिनसम्म चलेको बैठकले एशिया प्रशान्त क्षेत्रका देश तथा खाडीलगायत अन्य देशमा रोजगार गुमाएर अलपत्र परेका, विदेशी भूमिमा रोग र भोकको भयमा रहेका, प्रवेशाज्ञा सकिएर अलपत्र परेका र अन्य विविध कारणले विदेशमै रोकिएका नागरिकलाई बिनाशर्त यथाशीघ्र निःशुल्क उद्धार गर्न आग्रह गरेको हो ।

सम्मेलनले विदेशमा अलपत्र नागरिकलाई सहज स्वदेश फर्काउने वातावरण सिर्जनाका लागि नेपालमा हुने हवाई उडानको सङ्ख्या वृद्धि गर्नसमेत अनुरोध गरेको छ ।

वैदेशिक रोजगारबाट फर्किएका नेपाली श्रमिकको पुनः एकीकरण र रोजगारका लागि सङ्घ र नेपाल सरकारबीच स्वदेशमै रोजगार सिर्जनाका लागि सहकार्य गर्ने निर्णय गरेको छ ।