असोज १५ बाट प्याराग्लाइडिङ सञ्चालनमा आउँदै

असोज १५ बाट प्याराग्लाइडिङ सञ्चालनमा आउँदै
सोमवार, अशोज १२, २०७७

काठमाडौं-कोरोना महामारीका कारण विगत ७ महिनादेखी बन्द रहेको प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको छ ।

सरकारले आन्तरिक उडान शुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ गतेवाट व्यवसायीक रुपमा सञ्चालनमा आउने भएको हो ।

अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यवसायीक रुपमा प्याराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था नाकाका अध्यक्ष कृष्ण भण्डारीले बताए ।

पुरानै अवस्थामा फर्किन समय लाग्ने भएपनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने उनले बताए ।

कोरोना जोखिमका कारण बन्द रहेका कम्पनीहरुलाई पुनः बुकिङ शुरु गर्न नाकाले प्याराग्लाइडिङ कम्पनीहरुलाई निर्देशन दिएको छ ।

लकडाउनको अवधिमा पोखरामा व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीहरुले करिब ५० करोड बराबरको नोक्सानी व्यहोर्नुपरेका नाकाका महासचिव बलराम आर्चायले बताए ।

अहिले परिक्षणकालमा रहेका प्याराग्लाइडिङ सुरक्षाका निश्चित मापदण्ड अपनाएर संचालन भइरहेका छन ।

प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेशन अफ इरोनेटिक इन्टरनेशनल (एफएआई)का अनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्ट मध्येको एक गन्तव्य हो ।

यसलाई पहिलेको अवस्थामा ल्याउन धेरै चुनौति रहेका छन् । पोखराको सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने गर्दछन् ।

सुरुआती दिनमा विदेशी पाइलटले धानेको प्याराग्लाइडिङ अहिले तीन सयभन्दा बढी नेपाली पाइलट तयार रहेका छन् । प्याराग्लाइडिङबाट झन्डै दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।