नियन्त्रणमा लिएको प्याज खाद्यले सस्तोमा बिक्री गरेपछि उपभोक्ताको लाइन

नियन्त्रणमा लिएको प्याज खाद्यले सस्तोमा बिक्री गरेपछि उपभोक्ताको लाइन
सोमवार, अशोज १२, २०७७

काठमाडौं-खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज बिक्री गरेको छ ।

थापाथलीस्थित बिक्री कक्षबाट प्रति केजी ६० रूपैयाँमा प्याज सर्वसाधारणलाई बिक्री गरिएको कम्पनीले जनाएको छ ।

एक व्यक्तिले तीन केजीसम्म किन्न पाउनेछन् । कम्पनीका अनुसार शुक्रबार १७ क्विन्टल बिक्री भएको छ भने आइतबार लगभग २९ क्विन्टल बिक्रि भएको थियो ।

बजारभाउ भन्दा केही सस्तोमा प्याज बिक्री गरिएपछि प्याज किन्नका लागि आज पनि उपभोक्ताको लामो लाइन लागेको थियो ।

सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिएर बिक्री गर्न लागेका प्याज जफत गरी सर्वसाधारणलाई बिक्री गर्न थालेको हो ।

बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको थियो ।

बिक्री भएको प्याजको रकम ५२ रूपैयाँ राजस्व र ८ रूपैयाँ खाद्य कम्पनीको खातामा जिम्मा गरिने छ ।

केही दिन अघि बजारमा प्याजको कृत्रिम अभाव खडा गरी अत्यधिक मूल्य लिएर प्याज बिक्री भइरहेको सूचनाका आधारमा उपत्यकाका विभिन्न पसलमा अनुगमन गरिएको थियो ।