गुणस्तरहिन स्यानिटाइजर बेच्ने ९ कम्पनीको उत्पादनमा रोक

गुणस्तरहिन स्यानिटाइजर बेच्ने ९ कम्पनीको उत्पादनमा रोक
सोमवार, अशोज १२, २०७७

काठमाडौं-मानव स्वास्थ्यमा गम्भिर असर पर्ने रसायन मिसाएर बनाइएका ह्याण्ड स्यानिटाइजर विक्री वितरण भइरहेको पाइएको छ । बजारमा विक्री वितरण भइरहेका विभिन्न कम्पनीका स्यानिटाइजनमा विषाक्त रसायन मिथानेल भेटिएको हो ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापण्दण्ड पुरा नभएको पाइएपछि विभिन्न ९ वटा कम्पनीका स्यानिटाइजर उत्पादन र विक्रीमा रोक लगाइएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए ।

विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको उनले जानकारी गराए ।

मानव स्वास्थ्यलाई असर पर्ने मिथानोल मिसाएर विक्री वितरण भइरहेका ९ वटा कम्पनीका ह्याण्ड स्यानिटाइजर उतपदन र विक्र वितरणमा रोक लगाइएको हो ।

कोरोना संक्रमणपछि बजारमा ह्याण्ड स्यानिटाइजरको माग बढेको र केही व्यापारीहरुले निहित स्वार्थका लागि गुणस्तरहिन स्यानिटाइजर बनाएर बेच्ने गरेको पाइएपछि विभागले बजारमा पाइने स्यानिटाइजरको अनुगमन र परीक्षणलाई तिव्रता दिएको छ ।

विभागले यसअघि पनि विभिन्न कम्पनीले उत्पादन गरेका गुणस्तहिन स्यानिटाइजरको विक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।