मलेसियामा नेपालीलाई बन्धक बनाएको आरोपमा डेविट काठमाडौंबाट पक्राउ

मलेसियामा नेपालीलाई बन्धक बनाएको आरोपमा डेविट काठमाडौंबाट पक्राउ
बुधबार, अशोज १४, २०७७

काठमाडौं – प्रहरीले मलेसियामा नेपाली कामदारलाई बन्धक बनाएर करिब १६ लाख असुल गरेको आरोपमा डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईवी)को टोलीले श्रेष्ठलाई काठमाडौंको महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो ।

सीआईवीका प्रमुख डीआईजी सहकुल थापाका अनुसार श्रेष्ठले मलेसियामा श्रीमतीसहितको सहयोगमा दाङका मध्म रैदासलाई बन्धक बनाएर नेपालमा रहेकी श्रीमतीसँग १६ लाख रूपैयाँ असुल गरेको अनुसन्धानबाट खुलेको छ ।

ब्युरोको अनुसन्धानमा श्रेष्ठ, भुटान माईतीघर भएकी धनमाया श्रेष्ठ तथा श्याम नेपाली समेतले डेभिडको योजना बमोजिम मलेसियामा कार्यरत रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाई पीडितकी श्रीमतीलाई फोन गरेर साठी हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने समेतका धम्कीहरु दिई फिरौती बापतको पन्ध्र लाख बयानब्बे हजार रकम असुलेर अपहरण मुक्त गरेको खुलेको छ ।

उनीहरूले रैदासको राहदानी आफ्नो कब्जामा लिई पिडितलाई नेपाल आउन समेत नदिई बन्धक बनाइराखेको जाहेरी परेपछि ब्युरोले कारवाही थालेको थापाले बताए ।