उपचारमा लापरवाही गरेको भन्दै बिरामीका आफन्त आक्रोशित , डा. इवामुरा मेमोरियल अस्पतालमा नाराबाजी

उपचारमा लापरवाही गरेको भन्दै बिरामीका आफन्त आक्रोशित , डा. इवामुरा मेमोरियल अस्पतालमा नाराबाजी
बिहिबार, अशोज १५, २०७७

भक्तपुर । उपचारमा लापरवाही गरेको भन्दै बिरामीका आफन्तहरुले भक्तपुर सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा धर्ना दिएका छन् ।

भक्तपुर नगरपालिकास्थित चोर्चा टोलमा बस्ने ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको उपचारका क्रममा लापरवाही गरेको भन्दै अस्पताल परिसरमा आज बिहानदेखि धर्ना बसेर नाराबाजी गरेका हुन ।

सामान्य घाँटी दुखेर हिडेर उपचारका लागि अस्पताल पुगेका लाखाजुको असोज ९ गते इन्डोस्कोपी गर्ने क्रममा डाक्टरको लापरवाहीका कारण स्वास्थ्य अवस्था बिग्रिएको बिरामीका आफन्तको आरोप छ ।

बिरामीको स्वास्थ्य अवस्था बिग्रिएपछि अहिले नर्भिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको आफन्तले बताए । इवामुरा अस्पतालको लापरवाहीका कारण सामान्य बिरामी भेन्टिलेटरमा पुगेको भन्दै उनीहरुले उपचार खर्चको माग गर्दै धर्ना बसेका हुन् ।