आजदेखि काठमाडौं उपत्यकामा दशैं तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

आजदेखि काठमाडौं उपत्यकामा दशैं तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
बिहिबार, अशोज १५, २०७७

काठमाडौं । सरकारले आजदेखि काठमाडौं उपत्यकामा दशैं तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

हरेक वर्ष जस्तै यस वर्ष पनि दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका देशभरका कार्यालय, डिपो, डिलरहरुका साथै घुम्ती सेवा पसल एवं अनलाइनमार्फत् सहुलियत पसल संचालन गरेको हो ।

काठमाडौं उपत्यकामा थापाथली, रामशाहापथ, ललितपुरको प्रयागपोखरी, लगनखेल र भक्तपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको कम्पनीका बाग्मती प्रदेश बिक्री प्रमुख रणबहादुर बुढाथोकीले जानकारी दिए ।

सहुलियत पसलमा चामलमा प्रति किलो ५ र कर्णालीको सिमिमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ ।

त्यस्तै दशैंका लागि खसिबोका ल्याउनका लागि प्रक्रिया सुरु गरिरहेको भन्दै घटस्थानापनाको केही दिन अघि खसिबोका ल्याइ बिक्रिबितरण गरिने प्रमुख बुढाथोकीले जानकारी दिए

सुपथ मूल्य अनुसार नुन प्रतिकेजी १८ रुपैयाँका दरले एउटा परिवारलाई ४ केजी मात्रै खरिद गर्न मिल्ने व्यवस्था गरिएको छ ।

त्यस्तै चिनी ७० रुपैयाँ प्रतिकेजीका दरले प्रति परिवार ४ केजीका दरले खरिद गर्न पाउने व्यवस्था मिलाइएको छ ।

घ्युको मूल्य सकारले ८ सय ७० रुपैयाँ प्रतिलिटर निर्धारण गरेको छ । दालमा प्रतिकेजी ५ रुपैयाँ, फाँपर, तितेफाँपर, केराउमा प्रतिकेजी ५ रुपैयाँका दरले छुट दिइने कम्पनीले जनाएको छ ।