आईपीएलमा चेन्नईको तेस्रो जित

आईपीएलमा चेन्नईको तेस्रो जित
बुधबार, अशोज २८, २०७७

काठमाडौँ– आईपीएलमा चेन्नई सुपर किंग्सले तेस्रो जित दर्ता गरेको छ । सनराइजर्स हैदराबादलाई २० रनले हराउँदै साविक उपविजेता चेन्नई सुपर किङ्सले तेस्रो जित निकालेको हो ।

गएराति भएको खेलमा सनराइजर्स हैदराबाद १४७ रनमा समेटियो । चेन्नईले दिएको १६८ रनको विजयी लक्ष्य पच्छ्याएको हैदराबाद पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १४७ रनमा समेटिएसँगै चेन्नईले खेल २० रनले जितेको हो ।

हैदराबादका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोनी बेयरस्टोले २३ रन जोड्दा प्रियम गार्गले १६ तथा विजय शंकरले १२ रन बनाए ।

राशिद खान १४ रनमा आउट भए । चेन्नईका कर्न शर्मा र ड्रायन ब्राभोले २/२ विकेट लिए । यस्तै साम करन, सार्दुल ठाकुर र रबिन्द्र जडेजाले एकरएक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ४२ रन बनाए ।

अम्बाती रायडुले ४१ रन जोड्दा साम करनले ३१ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी २१ रनमा आउट हुँदा रबिन्द्र जडेजाले अविजित रहदै २५ रन बनाए । हैदराबादका सन्दीप शर्मा, खलिल अहमेद र टि नटराजनले २/२ विकेट लिए । जितसँगै चेन्नईले हैदराबादविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदलासमेत लिएको छ ।

यसै सिजनको पहिलो भेटमा चेन्नईलाई हैदराबादले ७ रनले पराजित गरेको थियो । जितसँगै चेन्नईले ८ खेलमा ६ अंक जोडेको छ । चेन्नई छैठौँ स्थानमा समेत उक्लिएको छ । हैदराबाद ८ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।