दशैंमा घर जाने गाडी खुल्यो तर यात्रु छैनन्, व्यवसायी मारमा (भिडियो रिपोर्ट)

दशैंमा घर जाने गाडी खुल्यो तर यात्रु छैनन्, व्यवसायी मारमा (भिडियो रिपोर्ट)
बुधबार, अशोज २८, २०७७

पुष्कर खतिवडा

काठमाडौँ– दशै नजिकिएसँगै काठमाडौँबाट बाहिरीने यात्रुको चाप अघिल्ला बर्षहरुमा निकै हुन्थ्यो । एक महिना अगाडिबाटै टिकट काउन्टरमा यात्रुहरुको भिड हुने गदथ्यो । तर यसपटक ३ दिनपछि दशैं भित्रिदै गर्दा समेत सार्वजनिक यातायातले यात्रु पाउन सकेका छैनन् ।कोरोना कहरका कारण काठमाडौँबाट बाहिरीने यात्रुको चाप शुन्य छ ।

कोरोना कहरका कारण झण्डै ६ महिना बन्द रहेको लामो दूरीका सार्वजनिक यातायातले चल्न पाए पनि यात्रु पाएका छैनन् । असोज १ बाटै सार्वजनिक यातायात खुलेपनि दशैं जस्तो चाडबाडका बेलामा समेत यात्रु नपाउदा यातायात व्यवसायीहरु मारमा परेका छन् । चैत ११ देखि करीब ६ महिनासम्म सार्वजनिक यातायातमा लागेको प्रतिबन्ध असोज १ बाट हट्यो । तर कोरोना संक्रमण दर बढ्दै गर्दा काठमाडौँबाट गन्तब्य जिल्लामा जाने यात्रुको चाप निकै कम छ ।

यसअघि काठमाडौँबाट पूर्वको ताप्लेजुङ, विराटनगर, तेह्रथुम लगायतका गन्तब्यमा दैनिक ४ सय ५० बढि सार्वजनिक सवारी आउजाउ गदर्थे । तर यस पटक दशैं लाग्दा समेत बसको संख्या ८/१० वटामा सिमित छ । बुकिङ काउन्टरका अनुसार सिट अनुसार यात्रु राख्न नपाउदा र वित्तीय संस्थाले किस्ताको लागि ताकेता गर्दा आफुहरु मारमा परेको काठमाडौँ पूर्वाञ्चल समन्वय समिति बुकिङ इन्चार्ज मणी थापा मगरले बताए ।

महाकाली बहुउदेश्यीय कम्पनी प्रा.ली.का कर्मचारी नारायण प्रसाद सिटौलाका अनुसार यसअघिका दशैंमा यात्रुको चापका कारण नियमित बसका अलावा दैनिक १८/२० वटा बस थप्नु पर्दथ्यो । तर यस पटक भने यात्रु नहुदा केवल ८/१० यात्रु बोकेर गन्तब्यमा जानु पर्ने बाध्यता छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्:

काउन्टर ब्यवसायीको आंकलन अनुसार दशैंअघि नै ८० प्रतिशत यात्रु गन्तब्य गइसकेको छन् । बाकि २० प्रतिशतमा १० प्रतिशत घर नजाने मनसायमा रहेको र १० प्रतिशतमा समेत ५ प्रतिशत निजी सवारी जाने र केवल ५ प्रतिशत यात्रु मात्र सार्वजनिक यातायातमा निर्भर छन् । यो पिडाले केवल यातायात ब्यवसायीलाई मात्र असर पारेको छैन यसमा आश्रीत कर्मचारी समेत मारमा परेका छन् । सार्वजनिक यातायातका चालक सहचालक समेत दशै तिहारको सिजन कमाईको सिजन हुदै आएकोमा यस पटक भने उनिहरु निराश बनेका छन् ।

सरकारले यातायात सञ्चालन गर्दा स्वास्थ्य निर्देशन पालना गर्न मापदण्ड तोकेको छ । जसमा कुल सिट क्षमताको आधा मात्र यात्रु बोक्नुपर्ने, यात्रु बोक्दा ५० प्रतिशत बढी भाडा लिन पाइने, यात्रुलाई गाडीमा उभ्याउन नपाइने तथा यात्रु र चालकले अनिवार्य सेनिटाइजर र मास्क अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड छ । तर यस मापदण्डको पालना केहि सवारीले गरे पनि सबै सवारीले भने गरेका छैनन् । तथापी कोरोना महामारीका कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुदा यातायात व्यवसायीहरु मारमा परेका हुन् ।