नवलपुरकी प्रमुख जिल्ला अधिकारी पंगेनीलाई कोरोना संक्रमण

नवलपुरकी प्रमुख जिल्ला अधिकारी पंगेनीलाई कोरोना संक्रमण
शुक्रबार, कार्तिक ७, २०७७

नवलपरासी- पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आफूसँगै बस्दै आएका परिवारका एक जना सदस्यमा कोरोना भाइरस पुष्टि भएपछि पीसीआर परीक्षण गर्दा प्रमुख जिल्ला अधिकारी पंगेनीलाई कोरोना भाइरस पुष्टि भएको हो ।

पंगेनीको ४ दिन अघि स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि पठाइएको थियो । विहीबार आएको रिपोर्टमा प्रमुख जिल्ला अधिकारी पंगेनीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी पंगेनी आफ्नै कोठामा विगत ४ दिनदेखि होम क्वारेन्टाइनमा बसेकी थिइन । उनी अहिले होम आइसोलेशनमा रहेकी छिन् ।

केही दिन अघि रुघा लागेको भए पनि अहिले भने स्वासथ्य अवस्था समान्य रहेको प्रमुख जिल्ला अधिकारी पंगेनीले जानकारी दिइन ।

हालसम्म नवलपुरमा संक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ । विहीबार नवलपुरमा १६ जनामका संक्रमण पुष्टि भएको छ ।

योसहित नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय १३ पुगेको छ । नवलपुरमा अहिलेसम्म १ हजार ४ सय ३७ जना संक्रमित फेला परेका छन् । ति मध्ये १४ जनाको निधन भएको छ भने ९ सय १० जना निको भएका छन् ।