Mon Sep 26 2022
देश

कोरानाको तथ्यांक कार्तिक ०८ : थप २ हजार २२५ संक्रमित, १३ को मृत्यु (भिडियो रिपोर्ट)

पुष्कर खतिवडा
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनलाइन वेभसाइटमा उल्लेख छ ।

शनिबार नेपालमा एकैदिन २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मात्र एकैदिन ४ हजार ४ सय ९९ जनामा कोरोना पुष्टि भएको थियो । शनिबार थपिएका संक्रमित सहित नेपालमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभरका प्रयोगशालामा १३ लाख ८० हजार ८ सय ६२ नमुना परीक्षण गरीएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्:

मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा १ हजार १ सय १० संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ । यो शुक्रबारको तुलनामा ६ सय ३४ ले कम हो । सक्रिय संक्रमित मध्ये ३०७ जना आइसीयूमा रहेका छन् भने ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ८ सय ४६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यो संगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ । त्यसैगरी मन्त्रालयको वेभसाइटमा हालसम्मका निको हुने संक्रमितको दर ६९ दशमलव ७९ प्रतिशत, सक्रिय संक्रमित दर २९ दशमलव ६७ प्रतिशत र मृत्यु शुन्य दशमलव ५४ प्रतिशत रहेको उल्लेख छ । नया“ तथ्यांक सार्वजनिक भएसंगै नेपाल कोरोना संक्रमित खराब मुलुकको सूचीमा विश्वभर ३४ औं स्थानमा कायमै रहेको छ ।