Mon Sep 26 2022
आर्थिक

दशैँमा राजधानीका सडक सुनसान बजार टिठ लाग्दो (भिडियो रिपोर्ट)

पुष्कर खतिवडा
काठमाडौं दशैँ हाम्रो दैलोमा आइपुगेको छ । आइतबार दशैँको ९ औं दिन अर्थात नवमी तिथि । यस दिन अघिल्ला बर्षहरुमा देशविदेशबाट आफ्नाहरु घर पुगेका हुन्थे । घरघरमा दशैँको रौनक हुन्थ्यो । भोलिपल्ट हुने टिकाको तयारी जोडतोडले थालिन्थ्यो । बजारमा किनमेल गर्नेको चहलपहल हुन्थ्यो । तर यो वर्ष कोरोनाका कारण फुटपाथकादेखि सटर पसलसम्म ग्राहकको उपस्थिती शुन्य छ । अझ काठमाडौं उपत्यकामा किनमेल गर्नेको घुइचो नै छैन ।

अन्य समयमा सुनसान हुने गाउ बरु राजधानीको तुलनामा अहिले रौनकमय छ । घर फर्केकाहरुले गाउमा चहलपहल निकै बढेको छ । तर काठमाडौं उपत्यकाको फुटपाथका ब्यापारीदेखि सटर ब्यापारीसम्म सबै ग्राहक कुरेर बस्न बाध्य छन् । ग्राहक आइहाले पनि आफ्नालागी भन्दा पनि छोराछोरीकालागी मात्र किनमेल गर्ने ब्यापारी मुकेश कुमार शाह अनुभव सुनाउँछन् ।

ब्यापारीहरुका अनुसार पहिलेको दशैंको तुलनामा यस पटकको बिक्रि दर १५ प्रतिशतको हाराहारीमा मात्र छ । यस्तोमा उनिहरु घरभाडा, रीण, छोराछोरीको स्कुल फिदेखि घरखर्चसम्म धान्न नसकेर दशैमा घर नगएको बताउछन् ब्यापारी नारायण थापा ।

ब्यापारमा मात्र होइन, यस पटक सार्वजनिक यातायातमा समेत कोरोनाको कहरले प्रभाव पारेको छ । अहिले देशभरका बसपार्क सुनसान छन् । कोरोना जोखिमका कारण दशैंमा घर जाने यात्रुहरु कम भएसंगै बसपार्क सुनसान बनेको हो । तर उपत्यकाभित्र चल्ने केहि सार्वजनिक यातायातमा भने आइतबार फरक दृष्य देखियो । कोटेश्वर स्टेण्डमा रोकिएको एउटा बसमा कोरोना कहरकाबीच सञ्चालन हुने सार्वजनिक यातायातमा सरकारले लगाएको मापदण्डको कुनै पालना भएको थिएन । यात्रु समेत लापरबाह रुपमा कोचाकोच गरेर गाडीमा सवार थिए ।

दशैंको नवमीका दिन उपत्यकाको चोकचोकमा प्रहरी र ट्राफिक प्रहरी तैनाथ छन् । देशमा भएको कोरोना महामारीको त्रासबीच उनिहरु आफ्नो ड्युटीमा अहोरात्र खटिएका छन् ।

अघिल्ला बर्षहरुमा यस दिन विदेश उड्ने नेपालीको संख्या निकै हुन्थ्यो तर यस पटक भने एयरपोर्ट समेत सुनसान छ । समग्रमा कोरोना कहरकाबीच विद्यार्थी, कर्मचारी, व्यवसाय लगायतका सबै घर गएपछि देशको राजधानी काठमाडौं उपत्यका करीब करीब सुनसान बनेको छ ।