कोरोना जोखिमले मान्यजनकहाँ टीका लगाउन जानेको चहलपहल न्यून

कोरोना जोखिमले मान्यजनकहाँ टीका लगाउन जानेको चहलपहल न्यून
मङ्लबार, कार्तिक ११, २०७७

काठमाडौं-यस वर्ष कोरोना सङ्क्रमणको जोखिमका कारण मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षको तुलनामा न्यून देखिएको छ ।

मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका जमरा लगाउन हिँड्नेको चहलपहल विगत वर्षमा जस्तो देखिएको छैन ।

विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहने गर्दछ ।

नजिकको परिवारका सदस्य पनि काम विशेष टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरु हुन्छन् ।

परिवारमा टीका लगाएपछि आफन्तजनसँग टीका लगाउन जाने परम्परा रहेकाले विगत वर्षमा बजार तथा सडकमा सर्वसाधारणको निकै भीड हुने गर्दथ्यो ।

तर नजिकको परिवारका सदस्यबीच मात्र टीका लाएर यस वर्षको दसैं मनाइँएको छ । त्यस्तै सडक सुनसान भएका छन ।

सडकमा विगत वर्षका जति सवारीसाधनहरु गुडेका छैनन् । काठमाडौ उपत्यकामा प्रत्येक दिन सङ्क्रमितको संख्या बढ्न थालेपछि धेरैले स्वास्थ्य सुरक्षा अपनाएर घर घरमा टीका लगाएकाछन् ।

टीका लगाउन हिँड्नेहरु पनि स्वास्थ्य सुरक्षाका विधि अपनाएर हिँड्ने गरेको देखिएको छ ।