दशैं बिदा सकिएसंगै राजधानीमा फेरी बढ्यो चहलपहल (भिडियो रिपोर्ट)

दशैं बिदा सकिएसंगै राजधानीमा फेरी बढ्यो चहलपहल (भिडियो रिपोर्ट)
बुधबार, कार्तिक १२, २०७७

पुष्कर खतिवडा
काठमाडौं फूलपातीदेखि सुनसान प्रायः बनेको काठमाडौं उपत्यका दशैं मनाउन गएकाहरु फर्केसंगै फेरी पुरानो स्वरुपमा फर्कदो छ । दशैंमा कम भएको यातायात र मानिसको चहलपहल क्रमशः बढ्न थालेको छ ।

आश्विन शुक्ल द्वादशीदेखि दशैं बिदा सकिएसंगै सरकारी कार्यालय खुलेका छन् । योसंगै दशैं मान्न उपत्यका बाहिरिएकाहरु आउने क्रम बढेपछि काठमाडौंमा चहलपहल शुरू भएको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस् :

बुधबार काठमाडौंको दरबारमार्गमा मानिसको चहलपहल बढेको थियो । धेरै पसलहरु खुल्ला थिए । सडकमा सवारीको चाप थियो । मानिसहरु फाट्टफुट्ट हिडेको देखिन्थ्यो । दरबार मार्ग मात्र होइन, रत्नपार्कमा समेत चहलपहल बढेको देखियो । राजधानी आएका कतिपय टीका–जमरा लगाएर आफ्नो कामकाजमा निस्किनेहरु देखिन्थ्यो ।

ललितपुरको पाटनमा समेत मानिसको चहलपहल बढेको छ । यस पटक आफन्तकोमा जान नपाएकाहरु नजिकको स्थानमा घुम्न निस्किएका छन् । यस पटक अघिल्ला बर्षमा झै सार्वजनिक यातायातको प्रयोग गर्नेको संख्या कम छ । कोरोनाको डरले धेरै मानिस सार्वजनिक यातायातको सट्टा निजि सवारी प्रयोग गरेका छन् । जसले मानिसको चहलपहल बढेपनि सार्वजनिक यातायातमा यात्रु नभएको चालक सुजन तामाङ बताउछन् ।

बुधबारदेखि सरकारी बिदा सकिएसंगै कार्यालय खुल्ला भएका छन् । काठमाडौं उपत्यका शहरी विकास प्राधिकरण, लोक सेवा आयोग, सिंहदरबार बैद्यखाना, महालेखा नियन्त्रकको कार्यालय बुधबार खुलेका थिए । यस अलावा गोश्वारा हुलाक कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रहरु, काठमाडौं महानगरपालिका र वडा कार्यालयसहित बैंक पनि खुल्ला थिए ।

यसरी बिदा सकिएसंगै दशैंअघि उपत्यकाबाट बाहिरिएका सवारी भित्रिन थालेका छन् । सडकमा बिस्तारै सवारीको चाप बढ्दो छ । यस पटक दशैंमा आफन्तकोमा जानेको संख्या कम भएको छ । यसमा कोरोनाको त्रास नै मुख्य कारण रहेको सर्वसाधरण बताउछन् ।

कोरोना कहरकाबीच यस पटकको दशैं समापन उन्मुख छ । यो दशैंमा मानिसहरु आफन्तकोमा जान नपाएपछि आपसमा बसेर कुरा गर्नेहरु बढेका छन् । कोही परीवारसहित घुम्न निस्किएका छन् । समग्रमा दशैंका रौनक दशमी र एकादशीमा मात्र सिमित बनेपछि २०७७ सालको यो दशैं परीवारभित्रै सिमित भएको छ ।