कोरोनाको बजार असर: ब्यापार नहुँदा ब्यापारीको बिजोग (भिडियो रिपोर्ट)

कोरोनाको बजार असर: ब्यापार नहुँदा ब्यापारीको बिजोग (भिडियो रिपोर्ट)
बिहिबार, कार्तिक १३, २०७७

पुष्कर खतिवडा
काठमाडौं काठमाडौंको भृकुटी मण्डपस्थित फुटपाथमा कपडा व्यवसाय गर्ने रबीन बुढाथोकी अहिले चिन्तित छन् । हरेक बर्ष दशैंमा उनको ब्यवसाय राम्रो हुन्थ्यो । तर यस पटक कोरोना महामारीका कारण दशैंमा समेत राम्रो ब्यापार नभएपछि उनी चिन्तित बनेका हुन् ।

रबीनका अनुसार दशैका अगाडी करीब ३ दिन सामान्य ब्यापार भएपनि अन्य दिनमा भने खासै राम्रो ब्यापार हुन सकेन । रबिन मात्र होइन भृकुटी मण्डपमा नै चटपटे ब्यवसाय गर्ने भारत मोतिहारीका बिरेन्द्र ठाकुरको ब्यवसायमा समेत कोरोनाको प्रभाव निकै नराम्ररी परेको छ । बिरेन्द्रका अनुसार कोरोनाको महामारीपछि पहिलेको तुलनामा ग्राहकको संख्यामा कमी आएको छ । दैनिक ३ हजारसम्म कमाइ हुने ब्यापार अहिले १ हजारमा सिमित बनेको छ । ग्राहकको कमी हुनुमा बिरेन्द्र कोरोना र ग्राहकमा यसको डर प्रमुख मान्छन् ।

भिडियो रिपोर्ट हेर्नुहोस्:

वीरेन्द्रको मात्र होइन, अहिले भृकुटी मण्डपमा चटपटे ब्यवसाय गर्ने अधिकाशंले त ब्यापार नै छाडिसकेका छन् । मानिसको चहलपहल कम भएसंगै पानिपुरी र चटपटे खाने मानिसको संख्यामा कमी आएसंगै यसको प्रत्यक्ष असर ब्यापारमा परेको चटपटे ब्यापारी बताउँछन् ।

पछिल्लो समय कोरोनाका कारण फलफुल, शैलुन, किराना, पुस्तक पसलसहित ठुला मलदेखि साना ब्यवसायमा समेत असर परेको छ । लामो समयको लकडाउन र कोरोनोको भयले ब्यापारमा निकै असर परेको छ । लामो समयदेखि काठमाडौंमा जुत्ता ब्यवसाय गर्दै आएका टिकाराम सिटौला समेत कोरोनाको प्रभावले कमाई हुने सिजन दशैंमा समेत यस पटक राम्रो कमाई नभएको बताउछन् । उनका अनुसार यस अघिको दशैंको कमाईले ११ महिना नै धान्न सकिने अवस्था रहेपनि यस पटकको दशैंमा कमाई नभएको गुनासो गर्छन् ।

समग्रमा दशैं हरेक ब्यवसायीकालागी कमाईको सिजन हुने गरेकोमा यस पटक भने त्यसो हुन सकेन । जसका कारण यस पटक दशैंमा तुलनात्मक रुपमा ब्यापार ५ प्रतिशतमा झरेको ब्यवसायीको आंकलन छ । यसरी व्यापार क्षेत्रमा नै कोरोना प्रभावित बनिरहदा यसको असर देशको अर्थतन्त्रमा समेत पर्ने देखिन्छ ।