Mon Sep 26 2022
देश

प्रहरीको खोजीमा र्‍याप गायक भिटेन

काठमाडौं – नयाँ गीतमा पनि छाडा शब्द बोलेको भन्दै नेपाल प्रहरीले र्‍याप गायक समीर घिसिङ (भिटेन)को खोजी थालेको छ । उनले आफ्नो नयाँ गीतमा छाडा शब्द बोलेको पाइएपछि प्रहरीले खोजी सुरु गरेको हो ।

भिटेनले यसअघि पनि छाडा शब्द बोलेपछि प्रहरीले पक्राउ गरेको थियो । त्यस क्रममा उनले अब आइन्दा त्यसो नगर्ने प्रतिबद्धता जनाएपछि छाडेपनि फेरि त्यस्तै गुनासो आएपछि अनुसन्धान गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालय, नक्सालले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ । प्रहरी प्रधान कार्यालयको पत्र पाएसँगै साइबर ब्यूरोले भिटेनको खोजी गरेको छ ।

भिटेनले प्राय: आफ्ना गितमा छाडा शब्द प्रयोग गरेको भन्दै उनको आलोचना हुने गरेको छ । तर युवा पुस्ता माझ भने उनको क्रेज रहँदै आएको छ ।