भक्तपुरमा ७१ संक्रमितको मृत्यु, ६ को होम आइसोलेशनमै ज्यान गयो

भक्तपुरमा ७१ संक्रमितको मृत्यु, ६ को होम आइसोलेशनमै ज्यान गयो
शुक्रबार, कार्तिक १४, २०७७

भक्तपुर- भक्तपुरमा हालसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका ६ जनाले ज्यान गुमाएका छन् ।

आज सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया संक्रमितको मृत्यु भएसँगै होम आइसोलेशनमा ज्यान गुमाउनेको संख्या ६ पुगेको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए ।

मिर्गौलाकी बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पीसीआर परीक्षण गर्दा आठ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकामा आज बिहान होम आइसोलेशनमै मृत्यु भएको हो ।

त्यस्तै भक्तपुर अस्पतालमा कोरोना संक्रमित ७९ वर्षीय एक पुरुषको उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन।

भक्तपुर नगरपालिका–१ चुनदेवी बस्ने पुरुषमा गत असोज २३ गते कोेरोना संक्रमण पुष्टि भएको थियो । दुवै शव नेपाली सेनाको टोलीले आज व्यवस्थापन गरेको छ ।

भक्तपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७१ जनाको मृत्यु भएको मिजारले जानकारी दिए ।