ट्रम्पका हजारौँ समर्थकले गरे वासिङ्गटनमा प्रदर्शन

ट्रम्पका हजारौँ समर्थकले गरे वासिङ्गटनमा प्रदर्शन
आइतवार, कार्तिक ३०, २०७७

एजेन्सी-  आफू पराजित भएको चुनावमा प्रमाण बिना धाँधलीको आरोप लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा उनका हजारौँ समर्थक सडकमा उत्रिएका छन् ।

वासिङ्गटन डिसीमा ट्रम्पका समर्थकहरु चुनावमा धाँधली भएको भन्ने उनको प्रमाणबिहीन आरोपको पक्षमा सडकमा आएका हुन् ।

झण्डासहित आएका प्रदर्शनकारीहरुमा दक्षिण पन्थी समूह प्राउड बोइजसहितको सहभागिता थियो । केही प्रदर्शनकारीले हेलमेट तथा बुलेट प्रूफ भेस्ट समेत लगाएका थिए ।

नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएका छन्। उनले ३०६ इलेक्टोरल कलेज मत पाएका छन् । ट्रम्प चार वर्ष पहिले त्यति नै मत पाएर विजयी भएका थिए । ट्रम्पले अझैसम्म हार स्वीकार गरेका छैनन् ।

बाइडेन परम्परागत रुपमा रिपब्लिकनहरुको पडक रहँदै आएका जर्जिया र एरिजोनासहितका राज्यमा पनि जित हाँसिल गर्न सफल भए ।

प्रदर्शनकारीहरुले ‘मेक अमेरिका ग्रेट अगेन’ को सर्ट फम ‘मागा’ लेखिएको ह्याट लगाएका थिए।