दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना !

दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना !
बिहिबार, मंसिर ४, २०७७

एजेन्सी- भारतको राजधानी नयाँ दिल्लीमा मास्क लगाउन अनिवार्य गरिएको छ ।

मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराईने दिल्लीका मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिए ।

मास्क अनिवार्य रुपमा लगाउन पटक पटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि पाँच सय रुपैयाँ मात्रै जरिवाना तोकेकोमा अहिले बढाएर दुई हजार पुर्‍याएको उनले बताए ।

केन्द्रीय राजधानी रहेको नयाँदिल्लीमा कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो ।

‘दिल्लीमा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएको छ, तर अहिलेसम्म पनि कतिपयले सार्वजनिक स्थलमा मास्क लगाएका छैनन,’ मुख्यमन्त्री केजरीवालले भने ।

उनले भिडभाड हुने वा गर्नु पर्ने सवै ठाउँ तथा गतिविधिहरुलाई सकेसम्म न्युनिकरण गर्न र भिडभाडमा जानै परेमा आधारभूत स्वास्थ्य सतर्कता कडाइका साथमा पालना गर्न पनि आग्रह गरे ।

धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै पनि कार्यक्रम तथा गतिविधिहरुप्रति उनले बढी चिन्ता व्यक्त गरे ।

कोरोनाभाइरसको महामारीको अवस्थाका बारेमा समीक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलिय बैठकपछि उनले थप कडाई गर्न लागिएको जानकारी दिए ।