विमानस्थलको क्षमता विस्तार गर्न एडिबीको १७ अर्ब ऋण

विमानस्थलको क्षमता विस्तार गर्न एडिबीको १७ अर्ब ऋण
शुक्रबार, मंसिर ५, २०७७

काठमाडौँ- एशियाली विकास बैंक (एडिबी)ले नेपालका दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि ऋण प्रदान गर्ने भएको छ ।

एडिबीले करिब १७ अर्ब ७४ करोड ८९ लाख ४५ हजार ( १५० मिलियन अमेरिकी डलर) बराबरको ऋण प्रदान गर्ने भएको हो ।

बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निर्माण सम्पन्न हुने चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि उक्त ऋण दिन लागेको हो ।

नेपालको प्रमुख आर्थिक गतिविधिको स्रोतका रुपमा रहेको पर्यटन क्षेत्रलाई बढावा दिने लक्ष्यका साथ सरकारको आग्रहमा उक्त ऋण प्राप्त हुन लागेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाल सञ्चालनमा रहेका विमानस्थलमध्ये प्रमुख हो । सो विमानस्थल अन्तर्राष्ट्रिय तथा घरेलु यात्रुका लागिसमेत प्रमुख केन्द्रका रुपमा रहेको छ ।

यस्तै भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलले वैकल्पिक अन्तर्राष्ट्रिय हवाई यातायात सुविधा प्रदान गर्ने उल्लेख गर्दै बैंकले लुम्बिनी गौतम बुद्धको जन्मस्थल एवं  प्रमुख पर्यटन गन्तव्य रहेको उल्लेख छ ।

बैंकको प्रधान कार्यालय मनिलाबाट आज जारी गरिएको प्रेस विज्ञप्तिअनुसार पछिल्लो सहयोगले विमानस्थलको सुरक्षा, क्षमता र परिचालन दक्षता सुधार गर्ने विश्वास लिएको छ ।

नयाँ गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल भवनको निर्माणपछि लुम्बिनी र वरपरका क्षेत्रीय पर्यटनलाई वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बैंकका वरिष्ठ यातायात विशेषज्ञ काई वी येओले उल्लेख गरे ।

सो परियोजनाले नेपालको पर्यटन उद्योगलाई पुनःर्जीवित गर्न र कोभिड–१९ को महामारीका कारण परेको दीर्घकालीन नकारात्मक असरलाई सम्बोधन गर्न मद्दत गर्ने उनको भनाइ छ ।

ऋण सहयोगले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी वे विस्तार, ह्याङ्गर, एप्रोन निर्माण गरिनेछ । यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवनको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउनेछ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य प्यानल र स्वच्छ ऊर्जा प्रदान गर्ने सामग्री प्रयोग गरेर गरिनेछ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल एशियाली विकास बैंककै सहयोगमा निर्माण भइरहेको छ ।