नेकपा नेता पाण्डेमाथिको दुर्व्यवहारबारे प्रवक्ता श्रेष्ठले भने – यसले कसैको पनि हित गर्दैन

नेकपा नेता पाण्डेमाथिको दुर्व्यवहारबारे प्रवक्ता श्रेष्ठले भने – यसले कसैको पनि हित गर्दैन
फाइल तस्वीर
शनिबार, मंसिर ६, २०७७

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नै पार्टीका कार्यकर्ताहरुबाट नेता सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको घटनाले कसैको हित नगर्ने बताएका छन्।

शनिबार चितवनमा नेकपाकै कार्यकर्ताहरुले दुर्व्यवहार गरेको विषयलाई लिएर उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

उनले भनेका छन्, ‘आज चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद क सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्ब्यवहारको घटना अति निन्दनीय एवं भर्त्सना योग्य छ। यसप्रकारको ब्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन। चेत होस्।’

यसअघि वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले वक्तव्य जारी गर्दै घटनाको भर्त्सना गरेका थिए।

शनिबार चितवनको राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा पार्टी नगर कमिटीको कार्यक्रममा नेता पाण्डेले मन्तव्य राखिरहँदा नेकपाका केही कार्यकर्ताहरुले नाराबाजी गर्दै दुर्व्यवहार गरेका थिए ।

नेता पाण्डेले मदन भण्डारी फाउण्डेशनले पार्टीमा गुटबन्दी गरेको भनेपछि उनीविरुद्ध नारावाजी शुरु भएको जनाइएको छ । कार्यक्रममा उपस्थित केही कार्यकर्ताहरुले मदन भण्डारी फाउण्डेशन जिन्दावाद, जबज जिन्दावाद, केपी ओली जिन्दावाद जस्ता नारावाजी समेत गरेका थिए ।