प्रिमियर लिग फुटबल : म्यान्चेष्टर सिटीलाई हराउँदै टोटेनहम शीर्ष स्थानमा

प्रिमियर लिग फुटबल : म्यान्चेष्टर सिटीलाई हराउँदै टोटेनहम शीर्ष स्थानमा
आइतवार, मंसिर ७, २०७७

एजेन्सी- टोटेनहम प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति म्यान्चेष्टर सिटीमाथि २–० को जित हात पार्दै टोटेनहम शीर्ष स्थानमा उक्लिएको हो ।

टोटेनहमका प्रशिक्षक जोसे मौरिन्होले सिटी प्रशिक्षक पेप ग्वार्डीओलामाथि कठिन जित निकालेका हुन् ।

सिटीले बल पोजिसन र गोलको धेरै अवसर सिर्जना गरेपनि टोटेनहमले खेलमा बाजी मार्‍यो ।

सन ह्युङ मिन र वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जियोवानी लो सेलोले घरेलु टोलीलाई जित दिलाउन एक/एक गोल गरे ।

टोटेनहमले लिगमा लगातार चार खेलमा जित निकालेको हो ।

खेलको पाँचौ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । ६५औँ मिनेटमा ह्यारी केनको पासलाई सदुपयोग गर्दै जियोवानी लो सेलोले घरेलु टोलीका लागि दोस्रो गोल गरेका थिए ।

टोटेनहमले प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटीसंग २ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको टोटेनहमले २० अंक जोडेको छ । पराजित सिटी तालिकाको १०औँ स्थानमा छ ।