काठमाडौं महानगरले मोबाइल भ्यानबाट स्वाव संकलन गर्दै

काठमाडौं महानगरले मोबाइल भ्यानबाट स्वाव संकलन गर्दै
आइतवार, मंसिर ७, २०७७

काठमाडौं-कोरोना भाइरस कोभिड—१९ को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ ।

महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत स्वाव संकलन सुरु गरेको हो ।

चाहेरपनि स्वाव संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरुको मोबाइल भ्यान मार्फत स्वाव संलकनको काम सुरु भएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

सरकारले घोषणा गरेअनुसार लक्षीत समूहको निःशुल्क परीक्षण गर्ने उल्लेख गर्दै उनले परीक्षण आफै गर्न सक्ने क्षमता भएकाहरुलाई शुल्क तिरेरै गर्न आग्रह गरे ।

कोरोना नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट कडा मेहनत गरिरहेपनि समुदायस्तरबाट सहयोग नभए नियन्त्रणमा नआउने उनले बताए ।

उनले स्थानीय स्तरबाट नै कोरोना महामारी विरुद्ध लड्न सहयोग गर्नुपर्ने बताए ।