हाम्रो टीम नेपालले दियो निःशुल्क खानासंगै न्यानो कपडा

हाम्रो टीम नेपालले दियो निःशुल्क खानासंगै न्यानो कपडा
सोमवार, मंसिर ८, २०७७

काठमाडौं । कोभिड–१९ का कारण रोजगारी गुमाएपछि भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले खाना खान आउनेहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

आज थापाथलीस्थित प्रसूति गृह पछाडि खाना खान आएका मानिसहरुलाई हाम्रो टीम नेपालले जाडो याममा लगाउने न्यानो कपडा वितरण गरेको हो ।

ट्राउजर, थर्मकोट लगायतका न्यानो कपडा वितरण गरिएको हाम्रो टीम नेपालले बताएको छ । न्यानो कपडा पाएपछि खाना खान आउने व्यक्तिहरु खुसी भएका छन् । हरेक व्यक्तिको पीडालाई बुझेर चिसोमा न्यानो कपडा वितरण गरेकोमा उनीहरुले हाम्रो टीम नेपालप्रति खुसी व्यक्त गरेका हुन् ।

हाम्रो टीम नेपालका उमेश बोहराले विभिन्न संघ संस्था र व्यक्तिहरुको सहयोगमा आठ महिना यता खाना खुवाउँदै आएको बताए । अहिले भने चिसो बढेका कारण बिभिन्न व्यक्तिको सहयोगमा न्यानो कपडा वितरण गरिएको उनले बताए ।

कोभिडका कारण गत चैत ११ गते देखि लकडाउन भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिहरुलाई हाम्रो टीम नेपालले निःशुल्क खाना खुवाउँदै आएको छ ।

यसअघि खुल्ला मञ्चमा खाना खुवाउँदै आएको यो समूहले काठमाडौं महानगरपालिकाले वैकल्पिक ठाउँको व्यवस्था गरिदिएपछि यही मंसिर ३ गते देखि यता थापाथली स्थित प्रसूति गृहको पछाडिको खुल्ला ठाउँमा खाना खुवाउँदै आएको छ ।