भारतीय विदेश सचिव नेपाल भ्रमणमा आउँदै

भारतीय विदेश सचिव नेपाल भ्रमणमा आउँदै
सोमवार, मंसिर ८, २०७७

काठमाडौं – भारतीय विदेश सचिव श्री हर्षवद्र्धन श्रृंगलाले यही मंसीर ११ र १२ गते नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।
भ्रमणको पहिलो दिन दुई देशका परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् । सोही दिन श्रींगलाले उच्चस्तरीय भेटघाट गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

पराराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा उनी दुई दिने औपचारिक भ्रमणमा आउन लागेको जानकारी दिएको छ । मन्त्रालयले भ्रमणलाई दुई देशबीचमा उच्च स्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको बताएको छ ।

भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गरेर विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात नेपालका लागि यो पहिलो भ्रमण भएको बताएको उल्लेख गरेको छ । विज्ञप्तीमा उल्लेख भएअनुसार यो भ्रमण भारतको नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता अनुरुप रहेको छ । भ्रमणको क्रममा विदेश सचिवले आफ्नो समकक्षी र अन्य विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगको बारेमा छलफल गर्नेछन् ।

नेपालसँग भारतको ऐतिहासिक तथा मानव सभ्यताका कडीहरु जोडिएको छ । हालका वर्षहरुमा भारतको सहयोगमा कैयौं प्रमुख पूर्वाधार तथा अन्तरदेशीय कनेक्टिभिटि परियोजनाहरु सम्पन्न हुनुका साथै द्विपक्षीय सहयोग सुदृढ भएको छ । भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्वपूर्ण हुनेछ ।