बर्दिबासमा प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु

बर्दिबासमा प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु
बुधबार, मंसिर १०, २०७७

काठमाडौं – महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ ।

हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा बुद्धिराजको मृत्यु भएको ग्रान्डी अस्पतालमा जेनेरल मेनेजर विकासमान सिंहले जानकारी दिए ।

बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो ।

६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको उपचार भइरहेको छ ।

आइतबार चकलेट किन्न गएकी गुलबसा खातुनको बेपता पछि हत्या गरेर बोरामा बेरेर स्थानीय पसले अरुण कुमार साहले माटोमा पुरेका थिए ।

दुई दिन देखि बेपत्ता रहेकी बालिकाको मंगलवार बिहान बर्दिबास वडा नम्बर १४ स्थित उनको घरनजिकै शव फेला परेको थियो ।

बालिकाको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयवासीले दोषीलाई कडा कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शन गरेका थिए ।