भीमेश्वरको शीलामा पसिना आएपछि राष्ट्रपतिलाई महाप्रसाद पठाइयो

भीमेश्वरको शीलामा पसिना आएपछि राष्ट्रपतिलाई महाप्रसाद पठाइयो
बुधबार, मंसिर १०, २०७७

दोलखा– दोलखाको प्रशिद्ध भीमेश्वरको शीलामा पसिना आएको छ । मंगलबार पौने २ बजेदेखि ३ बजेर ५४ मिनेटसम्म पटकपटक पसिना आएपछि मन्दिरका पूजारी तथा गुठियारहरुले पूजा गरेका छन् ।

पूजा गर्दा भीमेश्वरको शीलामा आएको पसिना कपासले पुछेर पूजाको प्रसादसहित राष्ट्रप्रमुखलाई पठाउने परम्परा अनुसार महाप्रसाद राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले एक विज्ञप्ति जारी गर्दै भीमेश्वरको शीलामा पसिना आएर पूजा सुरु भएपछि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुख मन्दिरमा पुगेर पूजाआजा गरी महाप्रसाद राष्ट्रपति कहाँ पठाउने व्यवस्था मिलाएको उल्लेख गरिएको छ ।

भीमेश्वरको शीलामा पसिना आएपछि क्षमा पूजा गर्ने परम्परा अनुसार महाप्रसाद राष्ट्रपतिकहाँ पठाइएको हो । राष्ट्रप्रमुखले शीलामा पसिना आएको सूचना पाएपछि क्षमा पूजा गर्ने परम्परा छ । त्यस्तै गृहमन्त्रालयले पनि क्षमा पूजा गर्ने परम्परा रहेको छ ।

शीलामा पसिना आएपछि लघुरुद्री गरिने र सरकारका तर्फबाट जोर बोका तथा स्थानीयको तर्फबाट जोरबोका गरी ४ वटा बोकाको बलिपूजा गरिने प्रचलन रहेको छ ।

कहिले पसिना आउँदा के भएको थियो ?
भीमेश्वरको शीलामा पसिना आउँदा ठूलो विपत्ति आउने वा ठूलो परिवर्तन हुने स्थानीयबासीको विश्वास छ ।

भीमेश्वरको शीलालाई १९९० सालमा पसिना आउँदा महाभूकम्प गएको थियो । १९९७ सालमा पसिना आउँदा राणा सरकारले चार जनालाई फाँसी दिएको थियो । २००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य भएको थियो । २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको थियो ।

२०१८ सालमा पसिना आउँदा देशमा ठूलो बाढीपहिरो आएको स्थानीय स्मरण गर्दछन् । त्यसैगरी २०२८ सालमा पसिना आउँदा राजा महेन्द्रको मृत्यु भएको थियो । २०३५ सालमा पसिना आउँदा जनमत संग्रह भएको थियो । २०४५ साल चैत्रमा पसिना आउँदा भूकम्प गएको थियो । २०५७ साल माघ १ र १५ गते पसिना आउँदा २०५८ सालमा दरवार हत्या काण्ड भएको स्थानीय बताउँछन् ।

त्यस्तै २०६१ फागुनमा पसिना आउँदा २०६२ सालमा जन आन्दोलन भएको र २०६४ साल जेष्ठ ५ गते पसिना आउँदा राजतन्त्रको अन्त्य भएको उनीहरु बताउँछन् । त्यसैगरी पछिल्लोपटक २०७० साल मंसिर र फागुन १३ गते र २०७४ असोज १० गते पनि भीमेश्वरको शिलामा पसिना आएको थियो । यसअघि २०७६ फागुन ७ गते पनि भीमेश्वरलाई पसिना आएको थियो