प्रचण्डलाई जवाफ दिँदै ओलीले सचिवालय बैठकमा प्रस्तुत गरे ३८ पृष्ठ लामो प्रतिवेदन

प्रचण्डलाई जवाफ दिँदै ओलीले सचिवालय बैठकमा प्रस्तुत गरे ३८ पृष्ठ लामो प्रतिवेदन
शनिबार, मंसिर १३, २०७७

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीमा देखिएको सङ्कट समाधान गर्नेसम्बन्धी प्रतिवेदन पेश गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

ओलीले पेश गरेको प्रतिवेदनमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावलाई कुण्ठा र कृत्रिम आरोप संगालोको संज्ञा दिइएको छ ।

३८ पुष्ठको प्रतिवेदनबाट उनले पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् ।

त्यस्तै अध्यक्ष ओलीले एकता–छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता–विग्रह र विघटनको बाटोमा? भन्दै प्रश्न गरेका छन् ।

पछिल्लो चुनावी प्रसंगलाई जोड्दै ओलीले बाह्य शक्तिको दवाव र प्रभावमा प्रचण्ड परेको आरोप पनि प्रतिवेदनमा लगाइएको छ ।

ओलीले पार्टी एकता भए पनि नेकपा एमाले र पूर्व माओवादीको गणितीय समीकरणको खेल सुरु भएको उल्लेख गरे ।

नेकपा सचिवालयको अर्को बैठक यही मङ्सिर १६ गते पार्टी कार्यालय धुम्रबाराहीमा बस्ने र अध्यक्षद्वयले राख्नुभएको प्रस्तामाथि छलफल हुने प्रवक्ता श्रेष्ठले दिए ।

शनिबारको बैठकमा ओलीसहित प्रचण्ड, माधवकुमार नेपाल र वामदेव गौतमले धारणा राखे ।

नेकपाको मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।