उद्योग वाणिज्य महासंघ निर्वाचन: कसले मार्ला बाजी ? (भिडियो रिपोर्ट)

उद्योग वाणिज्य महासंघ निर्वाचन: कसले मार्ला बाजी ? (भिडियो रिपोर्ट)
शनिबार, मंसिर १३, २०७७

पुष्कर खतिवडा

काठमाडौं – उद्योगी व्यवसायीहरुको संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनको निर्वाचन सकिएको छ । शनिबार बिहान ९ बजेबाट शुरु भएको मतदान सकिएसंगै मतगणना जारी छ । बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारद्वय चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको नयाँ अध्यक्ष बन्दै छन् । गोल्छापछिको नेतृत्वमा पुग्न वर्तमान उपाध्यक्षद्धय ढकाल र प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् ।

बरिष्ठ उपाध्यक्ष उम्मेद्वार किशोरकुमार प्रधान भएकाले आफ्नो जित सुनिस्चित भएको विश्वास गर्छन् भने अर्का उम्मेद्धार चन्द्रप्रसाद ढकालले भने निर्वाचन सम्पन्न भएपछि कुनैपनि पक्ष विपक्ष नभई महासंघ एउटै हुने बताउँछन् ।

महासंघ निर्वाचनमा जिल्ला नगर समूहमा ३८ जनाको उम्मेदवारी छ । एसोसिएटतर्फ ३१, वस्तुगततर्फ २८ र संस्थापक समूहमा २ जनाको उम्मेदवारी छ । द्विराष्ट्रिय संघमा नेपाल इन्डोनेसिया चेम्बर अफ कमर्सका अध्यक्ष सन्दीप अग्रवाल र प्रदेश १ बाट मोरङ व्यापार संघका राजेन्द्र राउत निर्विरोध निर्वाचित भइसकेका छन् । वरिष्ठ उपाध्यक्ष र ३ उपाध्यक्ष पद सहित कुल ६४ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । कुल मतदाता एसोसिएट तर्फ ९ सय ३, द्विराष्ट्रिय तर्फ ६, जिल्ला नगरतर्फ १ सय ५ र वस्तुगत तर्फ १ सय १ जना मतदाता रहेको निर्वाचन समितीले जानकारी दिएको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस् :

महासंघको मतदानकालागी कार्की ब्यान्क्वेट बबरमहल, प्रज्ञा प्रतिष्ठान कमलादी र महासंघ कार्यालय टेकु गरी तिनवटा केन्द्र तोकिएको थियो । कोरोना सङ्क्रमित मतदाताले भने छुट्टै केन्द्रबाट मतदान गरे । अवस्था सामान्य रहे निर्वाचन परीणाम शनिबार राति अबेरसम्ममा सार्वजनिक गर्ने तयारी रहेको महासंघले जनाएको छ । महासंघको ५४ औं साधारणसभा यही मंसिर ११ गतेदेखि शुरु भएको थियो । साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।