आइतवार शेयर बजारमा रेकर्ड नै रेकर्ड

आइतवार शेयर बजारमा रेकर्ड नै रेकर्ड
आइतवार, मंसिर १४, २०७७

काठमाडौं-शेयर बजारले कीर्तिमान कायम गरेको छ । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक र खरिदविक्री रकम दुवैमा अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ ।

गत विहीबार १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेर बन्द भएको बजार आज ७५ दशमलव ०२ अंकले बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंकमा बन्द भएको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक पनि १८ दशमलव ७६ अंकले बढेर ३ सय ८३ दशमलव ९३ अंकमा बन्द भएको छ ।

कारोबार रकमले पनि अहिले सम्मकै नयाँ किर्तिमान कायम गरेको छ । दिनभर २ सय कम्पनीको ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३ सय ४८ रुपैयाँको २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर खरिद विक्री भएको छ ।

पछिल्लो समय शेयर बजारमा लगानीका लागि उपयुक्त माहोल बनेपछि लगानीकर्ताले लगानी बढाउँदै गएका छन् ।

कारोबारमा आएका समूह मध्ये व्यापार, होटल, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन समूह भने घटेका छन् ।

त्यस बाहेकका सबै समूह बढेका छन् । आइतबार लगानीकर्ताहरु बैंकिङ समूहमा सबैभन्दा धेरै आकर्षित भएका छन् ।

बैंकहरुको शेयरमा खरीदचाप बढ्दा २७ वटा वाणिज्य बैंकमध्ये अधिकांश बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

विकास बैंकहरुको शेयरमा पनि लगानीकर्ताको आकर्षण बढी देखिएको छ । आइतबार सबैभन्दा धेरै विकास बैंक समूह ८ दशमलव ११ प्रतिशतले बढेको छ ।

त्यसपछि बैंकिङ समूह ७ दशमलव ८१ प्रतिशतले बढेको छ । यस्तै जीवन बीमा समूह २ दशमलव २४ प्रतिशतले बढेको छ ।

जलविद्युत समूह १ दशमलव ८ प्रतिशत, वित्त समूह १ दशमलव ३७ प्रतिशत, लघुवित्त समूह शुन्य दशमलव ९७ प्रतिशत, म्यूचअल फण्ड समूह शुन्य दशमलव ४१ प्रतिशत र अन्य समूह शुन्य दशमलव ०२ प्रतिशतले बढेको छ ।