भारतले गुमायो अष्ट्रेलियाविरुद्धको ओडीआई श्रृङ्खला

भारतले गुमायो अष्ट्रेलियाविरुद्धको ओडीआई श्रृङ्खला
सोमवार, मंसिर १५, २०७७

काठमाडौँ– भारतले अष्ट्रेलियाविरुद्धको तीन खेलको एक दिवसीय अन्तराष्ट्रिय (ओडीआई) श्रृङ्खला गुमाएको छ। भारतले तीनमध्ये दुई खेल हारिसकेको छ।

हिजो भएको दोस्रो ओडीआईमा भारत ५१ रनले पराजित भयो। पहिलो ओडीआईमा भारत ६६ रनले पराजित भएको थियो। अब तेस्रो ओडीआई बुधबार हुनेछ।

हिजोको खेलमा पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले चार विकेट गुमाएर ३८९ रनको विशाल योगफल खडा गरेको थियो। उसका लागि स्टेभेन स्मिथले १०४ रन बनाएका थिए।

जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा नौ विकेट गुमाइ ३३८ रन मात्र बनाउन सक्यो। उसका लागि विराट कोहलीले सर्वाधिक ८९ रन बनाए। अष्ट्रेलियाका लागि प्याट कुमिन्सले सर्वाधिक तीन विकेट लिए।

विदेशी भूमिमा भारतको यो लगातार दोस्रो श्रृङ्खला हार हो। यसअघि गत फेब्रेअरीमा भएको न्यूजिल्याण्ड भ्रमणमा ओडीआई श्रृङ्खला ३-० ले गुमाएको थियो।