नेपालमा २९ हजार बढिमा एचआईभी संक्रमण

नेपालमा २९ हजार बढिमा एचआईभी संक्रमण
सोमवार, मंसिर १५, २०७७

काठमाडौं-नेपालमा हालसम्म २९ हजार ५ सय ३ जनामा एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ ।

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले यो तथ्याङ्क सार्वजनिक गरेकी हुन् ।

ती मध्ये पुरुषको संख्या १७ हजार ५ सय ८७ र महिलाको संख्या ११ हजार ९ सय १६ रहेको छ ।

यस्तै १५ देखि ४९ वर्षको उमेर समूहको जनसंख्यामा एचआईभीको व्याप्तता दर शुन्य दशमलव १३ प्रतिशत रहेको पनि डा. देवकोटाले बताईन ।

तथ्याङ्क अनुसार वि.सं. २०७७ असार मसान्त सम्ममा नेपालको कुल एचआईभी संक्रमित मध्ये १९ हजार ४ सय जना अर्थात ६६ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन् ।

सन २०१० को तुलनामा सन २०१९ सम्मा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ ।

यस्तै बच्चाहरुमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको पनि डा. देवकोटाले बताईन ।

एचआईभी संक्रमितहरुलाई ८० वटा एआरटी केन्द्रहरु र २० वटा एआरभी केन्द्रहरुबाट निःशुल्क औषधि वितरण भइरहेको पनि निर्देशक देवकोटाले बताईन ।