संचालनमा आएको भोलिपल्टै सप्तरीका केही विद्यालय बन्द

संचालनमा आएको भोलिपल्टै सप्तरीका केही विद्यालय बन्द
सोमवार, मंसिर १५, २०७७

सप्तरी-लामो समयपछि खुलेका सप्तरीको शम्भुनाथ नगरपालिकाका केही विद्यालय संचालनमा आएको भोलिपल्टै बन्द भएका छन् ।

सम्भुनाथ नगरपालिकाका जनप्रतितिनिधि र प्रधानाध्यापकहरुको संयुक्त बैठकले कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै विद्यालय संचालन नगर्ने निर्णय गरेका हुन् ।

नगरपालिका भित्रका केही विद्यालयले भने निर्णय अघि नै सूचना टाँस गरी बन्द गरेका थिए ।

शम्भुनाथ नगरपालिकाभित्र २४ सामुदायिक विद्यालय रहेका छन् । अधिकांश गत चैत ११ देपख नै बन्द रहेको विद्यालय कोरोनाको जोखिम कायमै रहेकाले आइतबार खुलेर सोमबार बन्द भएका हुन् ।

विद्यालयहरु अर्को सूचना नहुँदासम्मका लागि पुनः बन्द भएको नगरप्रमुख योगेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

१८ स्थानीय तह रहेको सप्तरीमा पाँचसय १३ सामुदायिक तथा एकसय ७७ निजी विद्यालय छन् ।

समुदायिकतर्फ एकलाख सातसय ६ तथा निजी विद्यालयका ३४ हजार छसय २९ गरि कक्षा १ देखि १२ सम्म कुल एकलाख ३५ हजार ३ सय ३५ विद्यार्थी अध्ययनरत छन् ।

जिल्ला शिक्षा तथा समन्वय इकाई सप्तरीका प्रमुख फणिन्द्र खत्रीका अनुसार कोरोनाको संक्रमण फैलिन थालेपछि चैत ११ देखि बन्द विद्यालयहरु सरकरले तोकेको विद्यालय संचालन सम्बन्धी निर्देशिकाको पालना गर्दै खोल्न स्थानीय तहलाई अनुमति प्रदान गरिएको छ ।

जसअनुसार जिल्लाका राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, खडग नगरपालिका, रुपनी गाउँपालिका र विष्णुपुर गाउँपालिकाले सम्बन्धीत ठाउँका अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापकहरुको संयुक्त बैठक राखी विद्यालय संचालनको निर्णय गरिसकेको छ ।

बाँकी स्थानीय तहले भने हाल विद्यालय संचालन गर्ने नगर्ने विषयमा संयुक्त बैठक बस्ने तयारी गरिरहेको उहाँको भनाई छ ।

यता कतिपय विद्यालय खुलेर पनि बन्द हुनु, कतिपय संचालनमा आउनु र कतिपय खुल्नै बाँकी रहँदा विद्यार्थी तथा अभिभावक अन्यौलमा परेका छन् ।