जग्गाको टुंगो नलाग्दा म्याग्दीका तीन स्थानीय तहमा अस्पताल बनाउने योजना अलपत्र

जग्गाको टुंगो नलाग्दा म्याग्दीका तीन स्थानीय तहमा अस्पताल बनाउने योजना अलपत्र
सोमवार, मंसिर १५, २०७७

सन्तोष गौतम

म्याग्दी-सरकारले दुई वर्षअघि सबै स्थानीय तहमा अस्पताल बनाउने योजना अघि सारेको थियो ।

योजना कार्यान्वयनका लागि यसवर्ष बजेटसमेत ब्यवस्थापन गरिएपनि म्याग्दीमा अस्पताल बनाउने जग्गाकै टुङ्गो लाग्न सकेको छैन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याग्दीका चारवटा स्थानीय तहलाई अस्पताल भवन बनाउन चालु आर्थिक वर्षमा बजेट पठाएपनि तीनवटा पालिकामा कहाँ भवन बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन् ।

दुईवर्ष अघिनै अर्मन स्वास्थ्य चौकीको भवन परिसरमा जग्गा ब्यवस्थापन गरेको मंगला गाउँपालिकाले मात्र अस्पताल भवन बनाउने प्रक्रिया सुरु गरेको छ ।

धवलागिरी गाउँपालिकाले ताकम स्वास्थ्य चौकी परिसरमा अस्पताल भवन बनाउन जग्गा ब्यवस्थापन गरेको छ ।

तर, तीनवर्ष अघि गाउँसभाले गरेको धारापानीमा अस्पताल बनाउने निर्णय कार्यान्वयन गराउन स्थानीयले दवाव दिएपछि बिवाद उत्पन्न भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले दोवामा अस्पताल बनाउने भने पनि जग्गाको व्यवस्थापन भइनसकेको वडाध्यक्ष दिलिपकुमार गर्बुजा बताउँछन् ।

यसअघि बेगमा ठाउँ तोकेर आएपनि रघुगंगा गाउँपालिकाले सबैलाई पायक पर्ने हिसावले पालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउने निर्णय गरेपछि गाउँपालिका र बेगका बासिन्दाबीच चर्किएको बिवादले अन्यौल बढाएको छ ।

बेनी नगरपालिकामा जिल्ला अस्पताल र मालिकाको केन्द्र दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र छ ।

सरकारले २०७७ मंसिर १५ गते देशभरका पालिकामा एकैपटक अस्पतालको शिलन्यास गर्ने घोषणा गरेको छ ।

तर म्याग्दीमा जग्गा छनौट, मूल्याङ्कनकै क्रममा भएकाले मंगला बाहेकका पालिकामा तत्काल भवन निर्माण सुरु हुने देखिदैन् प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी बताउँछन् ।

अस्पताल बनाउन सरकारले अन्नपूर्ण र धवलागिरी गाउँपालिकालाई ७०/७० लाख, रघुगंगा र मंगला गाउँपालिकालाई ८५÷८५ लाख रुपैयाँ बजेट पठाएको छ ।

गाउँमै अस्पताल बन्ने भएपछि स्थानीयबासी उत्साहीत भएका छन् । सामान्य बिरामी पर्दा समेत सहरबजार पुग्नुपर्ने बाध्यता हट्ने स्थानीयको अपेक्षा छ ।

अस्पताल बनाउन संघीय सरकारले बजेटको व्यवस्था गरिदिदासमेत स्थानीय तहमा भने कतै जनप्रतिनितधिको राजनीति त कतै सबैलाई पायक पर्ने स्थान नभएका कारण स्थानीयको विरोध भइरहेको छ ।

जनप्रतिनितिधिहरु भोटको राजनीतिको पछि लाग्दला आफ्नै बदनामी गरिरहेका छन् भने स्थानीयको विरोधलेले पनि स्वयमले सेवा सुविधा पाउने अवस्थाबाट बञ्चित हुनपरेको छ ।

त्यसैले अस्पताल बनाउन सुरक्षित र नागरिक पायकको स्थान छनौट गरी जतिसक्दो छिटो पुर्बाधार निर्माण सुरु गर्न आवश्यक छ ।