लुम्बिनी प्रदेशका सबै वडामा यो वर्ष विद्युत विस्तार गरिसक्ने उर्जामन्त्रीको लक्ष्य

लुम्बिनी प्रदेशका सबै वडामा यो वर्ष विद्युत विस्तार गरिसक्ने उर्जामन्त्रीको लक्ष्य
सोमवार, मंसिर १५, २०७७

रोल्पा-उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले यस वर्ष लुम्बिनी प्रदेश अन्तर्गत सबै स्थानीय तहका वडामा विद्युत विस्तार गरिसक्ने बताएका छन् ।

गृहजिल्ला रोल्पाको लाकुरीमा स्थापना भएको ३३ केभी सवस्टेशनको उद्घाटन गर्न पुगेका मन्त्री पुनले अबको दुईवर्ष भित्र देशका सबै ठाउँमा विद्युत विस्तारका लागि सरकारको नीति तथा कार्यक्रममा समेटेर बजेट व्यवस्था गरेको बताए ।

रोल्पामा गतवर्ष दुईवटा सब स्टेशनको निर्माण भइसकेकाले अब जिल्लाका ९० प्रतिशत घरमा गुणस्तरीय विद्युत पुग्ने उनको भनाई थियो ।

अर्को प्रशंगमा मन्त्री पुनले नेकपा कुनै हालतमा नफुट्ने दावी गरे । नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री पुनले अध्यक्षद्धयले नेतृत्व त्याग गरे नयाँ पुस्ता नेतृत्व लिन तयार रहेको बताए ।

सरकार र पार्टीको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेकाले नयाँ पुस्ताले नेतृत्व सम्हाल्न आफूसमेत तयार रहेको उनको भनाई छ ।

सरकारले पहिलो वर्ष पुरा गर्दा नै नेपालको पानी जनताको लगानी कार्यक्रम घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अवको युग विद्युतीय ऊर्जाको युग भएको घोषणा गरेपनि अझै सबैका घरमा विद्युत पुग्न सकेको छैन ।