नेपाल भ्रमणको बाटो खुल्यो (भिडियो रिपोर्ट)

अब यी शर्त पूरा गरे विदेशी पर्यटकले नेपाल भ्रमण गर्न पाउने

नेपाल भ्रमणको बाटो खुल्यो (भिडियो रिपोर्ट)
सोमवार, मंसिर १५, २०७७

पुष्कर खतिवडा
काठमाडौं – कोरोना महामारीले ९ महिनादेखिको धरायशी बनेको नेपाली पर्यटन क्षेत्र खुला गर्ने सरकारले निर्णय गरेको छ ।सरकारले पर्वातारोहण वा पदयात्रा गर्न नेपाल भ्रमणमा आउन चाहने विदेशी नागरिकलाई भिजिट र अनअराइभल भिसा दिने निर्णय गरेको हो ।

सरकारी निर्णयसँगै पर्यटन क्षेत्रमा आशाको त्यान्द्रो जागेको व्यवसायीहरूले बताएका छन् । विदेशी पर्यटकलाई नेपाल भ्रमणमा आउन दिने निर्णयले पर्यटन व्यवसायी उत्साहित बनेका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष अच्युत गुरागार्इं सरकारको निर्णय स्रहानिय भएको बताउँछन् ।

नेपाल आउन चाहने विदेशी पर्यटकले भने सरकारले तोकेको केही मापदण्ड र शर्तहरु पालना गर्नुपर्नेछ । जसमा ७२ घण्टा अगाडिको कोभिड नेगेटिभको रिपोर्ट र पर्यटन बोर्ड वा विभागको स्वीकृति पत्र चाहिन्छ ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार कोरोना महामारीपछि नेपाल आउने पर्यटकको संख्या घटेको छ । उनका अनुसार सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल आएकोमा सन् २०२० को नोभेम्बरसम्ममा २ लाख १८ हजार मात्र पर्यटक आएका छन् । नेपाल आएका यी पर्यटक पनि सबैजसो नेपालमा कोभिड संक्रमणको महामारी सुरू हुनु पूर्वकै हो । केसीका अनुसार कार्तिक यता विदेशीरूलाई नेपाल आउन स्वीकृति दिएपछि अहिलेसम्म ३ सय पर्यटक आएका छन् । त्यसमा पनि पर्वातारोहणमा भन्दा पदयात्राका पर्यटक बढी छन् ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः

यसअघि पूर्वस्वीकृति बिना कुनै पनि विदेशी नागरिकलाई नेपाल आउनका लागि खुला गरिएको थिएन । कूटनीतिक नियोग, कर्मचारी, इजाजत लिएर आएका विदेशी यात्रुलाई मात्र आवगमन खुला गरिएको थियो ।