Mon Sep 26 2022
मुख्य खबर

ज्यान मार्ने उद्योगमा फरार रहेका अभियुक्त १२ वर्षपछि पक्राउ

सप्तरी-ज्यान मार्ने उद्योगमा संलग्न भई विगत १२ बर्षदेखि फरार सप्तरीको कंचनरुप नगरपालिका ५ निवासी ३८ वर्षीय गोरिया भन्ने बीरेन्द्र मलाहलाई प्रहरीले आज पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मलाहलाई गाउँमै लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

२०६५ असोज ६ गते कंचनरुप नगरपालिका ५ का दौलत पाण्डे र उनको आफन्तमाथी भएको ज्याान मार्ने उद्योग घटनामा सप्तरी जिल्ला अदालतबाट ५ वर्ष कैद सजाय फैसला सुनाइएपछि फरार रहेका मलाहालाई आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा पछिल्लो समय फरार अपराधी पक्राउ गर्न सप्तरी प्रहरीले चलाएको अभियान र मिलेको सफलता बारे बिवरण समेटिएको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ ।

तथ्याङ्क अनुसार साउन १ देखी पुस २४ सम्मको ६ महिने अवधीमा विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका ३ सय ९७ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरि अदालतमा बुझाएको छ ।

यसरी पक्राउ परेका अपराधीबाट जरिवाना बापत १० लाख ९८ हजार ३ सय २५ रुँपैया असुली भएको तथा उनीहरुको ६० वर्ष ९ महिना २२ दिन कैद भुक्तान बाँकी रहेको प्रहरी उपरिक्षक धमलाले बताए ।

पत्रकार सम्मेलनमा डिएसपी भुवनेश्वर साहले यस अवधीमा जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका इलाका प्रहरी कार्यालय कल्याणपुर, कडोरबोना र कंचनपुरमा समेत गरि कुल ४ सय ३७ मुद्दा दर्ता भएको जानकारी दिए ।

यसै अवधीमा भन्सार छलि अवैध रुपमा भित्राइएका २ करोड १२ लाख ८२ हजार ८ सय ७४ रुँपैया मुल्य बराबरका तीन थान पिकअप, ८२ थान मोटरसाइकल, ८ थान अटोरिक्सा, ५ थान ट्रयाक्टर र दुई थान टेम्पु जफत गरि भन्सार कार्यालय बुझाइएको डिएसपी साहले जानकारी दिए ।