प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दा हेर्दाहेर्दैमा

प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दा हेर्दाहेर्दैमा
बुधबार, पुस २९, २०७७

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथिको आजको सुनुवाइ सकिएको छ ।

बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अर्को बहस शुक्रबार गर्ने निधो भएको छ । आजको सुनुवाइमा रिट निवेदकले बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्न माग गरेकोमा सरकारी पक्षले त्यसमा असहमति जनाएको छ ।

विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्न माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, रमणकुमार श्रेष्ठ, हरि उप्रेती, दिनेश त्रिपाठी, डा।चन्द्रकान्त ज्ञवाली, शम्भु थापाले माग गरेका थिए ।

पाँच न्यायाधीशले मात्र न्याय निरुपण गर्न कठिन हुने भएकाले बृहत् पूर्ण इजलास राखी विगतमा जस्तै कम्तीमा ११ जना न्यायाधीशमार्फत सुनुवाइ र फैसला गर्नुपर्ने उनीहरूको माग छ ।

सरकारका प्रमुख कानूनी सल्लाहकार एवं महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले भने बृहत् पूर्ण इजलास आवश्यक नरहेको र संविधान तथा सर्वोच्च अदालतको नियमावलीअनुसार संवैधानिक इजलासले नै टुंगो लगाउने जिकिर गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए ।