एआईजी पोखरेलको नेतृत्वमा प्रहरीको निर्वाचन तयारी समिति

एआईजी पोखरेलको नेतृत्वमा प्रहरीको निर्वाचन तयारी समिति
बिहिबार, माघ १, २०७७

काठमाडौं– नेपाल प्रहरीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ३७ सदस्यीय निर्वाचन समिति बनाएको छ ।

प्रहरी प्रधान कार्यालयले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको हो ।

समितिमा एआईजी पोखरेलको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठसमेत छन् । निर्वाचन तयारी तथा समन्वय समितिको नेतृत्व पाएका पोखरेलले निर्वाचनका लागि शान्ति सुरक्षाको योजना, रणनीतिदेखि जनशक्ति परिचालन र आवश्यक पर्ने स्रोत साधनदेखि आर्थिक व्यवस्थापनसम्मको खाका बनाउने काम सुरु गरिएको जानकारी दिए ।

‘निर्वाचनका लागि आवश्यक सुरक्षा योजना, जनशक्ति परिचालन र आवश्यक पर्ने स्रोतसाधनका विषयमा प्रारम्भिक अध्ययनको काम सुरु गरिएको छ,’ एआईजी पोखरेलले भने ।

समितिले म्यादी प्रहरी भर्नाका लागि आवश्यक पर्ने खाकासमेत तयार गर्नेछ । त्यसका लागि निर्वाचन आयोगले मतदान केन्द्र तथा मतदान स्थलको पुनरावलोकनको काम सकेपछि निर्णय हुनेछ । हाल निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण तथा पुनरावलोकनको काम गरिरहेको छ ।

समितिले बनाएको प्रारम्भिक खाकाका आधारमा नेपाल प्रहरीले सरकारसँग निर्वाचनका लागि आवश्यक पर्ने स्रोतसाधनको माग गर्नेछ । यसअघि गृह मन्त्रालयले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको नेतृत्वलाई निर्देशन दिएको थियो । राजधानी दैनिकबाट