मासु र बन्दुकसहित निकुञ्जबाट एक जना पक्राउ

मासु र बन्दुकसहित निकुञ्जबाट एक जना पक्राउ
बिहिबार, माघ १, २०७७

डोल्पा– डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा मासु र भरुवा बन्दुक सहित एक पक्राउ परेका छन् । चोरी शिकारी नियन्त्रण इकाइले निकुञ्जको निगालगैरा भन्ने वन क्षेत्रमाबाट गत पुस २७ गते रातिको समयमा पक्राउ गरेको हो ।

स्थानीयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ६ बस्ने लक्ष्मीचन्द्र शाही रहेका छन् । निज व्यक्तिबाट एक थान भरुवा बन्दुक, वन्यजन्तुको जस्तो देखिने आखेटोपहार (मासुको टुक्रा), १९ वटा गोली,बारुद १ बट्टा तथा बन्दोबस्तीका सामानहरु बरामद गरिएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिए ।

निजलाई हिरासतमा राखि अनुसन्धान कार्य अगाडि बढाइएको निकुञ्जले जनाएको छ । निकुञ्जले यसभन्दा अगाडि पनि ३७ थान भरुवा बन्दुक, १ थान कटुवा पेस्तोल, इन्सास राईफलका गोलीहरु पनि बरामद गरिएको थियो ।