कोरोनाविरुद्धको खोप किन्न सरकारले सुचना निकालेरै माग्यो आर्थिक सहयोग (भिडियो रिपोर्ट)

कोरोनाविरुद्धको खोप किन्न सरकारले सुचना निकालेरै माग्यो आर्थिक सहयोग (भिडियो रिपोर्ट)
बिहिबार, माघ १, २०७७

पुष्कर खतिवडा
काठमाडौं – विश्वका केही देशमा कोरोना संक्रमणविरुद्धको खोप निःशुल्क लगाउदै गर्दा नेपालमा भने खोप कहिले भित्रिन्छ भन्ने मै चर्चा सीमित छ । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै सरकारले कोरोनाको खोप भित्र्याउने तयारी थालेको बताएको दुई दिन नबित्दै सरकारले खोप किन्न आर्थिक सहयोग मागेको छ ।

पुष २७ गते सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रियाको सरकारी तयारी पुरा भएको भन्दै खोप खरिद गर्न सरकारसँग आर्थिक स्रोत रहेको बताएका थिए । तर दुई दिनमै मन्त्री त्रिपाठीको बोलीले हावा खाएको छ । मन्त्रीको बोलीलाई हवाला दिदै दुई दिन नबित्दै बुधबार स्वास्थ्य मन्त्रालयले खोप खरिद गर्न आर्थिक सहयोगको अपिल गर्दै खोप कोषको नाममा आर्थिक सहयोग गर्न दाताहरुसंग आव्हान गरेको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः

विश्वका कैयौं मुलुकमा कोरोना खोपको निशुल्क वितरण भइरहेको बेला नेपालले भने खोप खरिद गर्न सहयोग मागेको छ । सरकारले राष्ट्रिय वाणिज्य बैंकमा खोप कोष शीर्षकमा कोष तथा लेखा नियन्त्रकको कार्यालय, त्रिपुरेश्वरको नाममा रहेको खाता नम्बर १७००१००१०२०६०००० मा रकम जम्मा गर्न आव्हान गरेको छ । खोप किन्ने रकम जोहोकालागी दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक, सामाजिक एवम् परोपकारी संस्थालाई सहयोग गरी योगदान गर्न आव्हान गर्दै सरकारले सहयोग मागेको छ ।

गतवर्ष पनि सरकारले ‘कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार कोष’ खडा गरेको थियो । जसमा हालसम्म २ अर्ब ९० करोड रकम संकलन भएको छ । जसमध्ये २ अर्ब ४४ करोड भने खर्च भइसकेको छ । यो कोष मुख्यतः कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि खडा गरिएकाले स्वास्थ्य मन्त्रालयले खोप ल्याउन नयाँ कोष निर्माण गरेको हो । खोप ल्याउन सरकारको स्रोतले मात्रै थेग्न कठिन पर्ने भएकाले थप स्रोत जुटाउन नयाँ कोष खडा गरेर सार्वजनिक रूपमै रकम जम्मा गर्न र सहयोग गर्छौं भनेर आश्वासन दिनेहरूकालागि सहयोग अपिल गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच औषधि व्यवस्था विभागले समेत कोरोना भाइरसविरुद्धको खोप आयातका लागि उत्पादक वा आधिकारिक आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदनको माग गरेको छ । विभागले सूचना जारी गर्दै खोपको आपतकालीन प्रयोगका लागि दर्ता अनुमतिका लागि आह्वान गरेको हो ।