पाकिस्तानको केटु हिमालमा १० नेपालीको विश्व कीर्तिमान (भिडियो रिपोर्ट)

पाकिस्तानको केटु हिमालमा १० नेपालीको विश्व कीर्तिमान (भिडियो रिपोर्ट)
सोमवार, माघ ५, २०७७

पुष्कर खतिवडा

काठमाडौं – १० नेपाली पर्वतारोहीको टोलीले नयाँ विश्व कीर्तिमान कायम गर्दै हिउँदमा विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानको माउण्ट केटु हिमालको सफल आरोहण गरेका छन् । स्थानीय समय अनुसार ५ बजे नेपाली पर्वतारोहीले हिमाल आरोहण गरेका हुन ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः

नेपाली पर्वतारोहीले शनिबार पाकिस्तानस्थित ‘माउन्ट केटू’को सफलतापूर्वक आरोहण गरी इतिहास रचेका हुन् । पाकिस्तानी शिखरमा पुगेर विश्व कीर्तीमान कायम गर्नेमा निर्मल पुर्जा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा जी, दावा तेन्जीन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन् ।

उनीहरुले माउण्ट केटू हिमालको चुचुरोमा नेपाली राष्ट्रिय गान गाउनुका साथै राष्ट्रिय झण्डा फहराएका थिए । नेपाली पर्वतारोहिको यस विश्व रेकर्डले नेपालको गौरव बढाएको सगरमाथाको १६ औं पटक सफल आरोहण गरेका जाङ्बु शेर्पाले बताए ।

सगरमाथाभन्दा २०० मिटर मात्रै कम उचाइको माउण्ट केटु पाकिस्तान र चीनको सिमानामा रहेको काराकोरम हिमश्रृङ्खलामा छ । संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ शिखरमध्ये केटु हिउँदमा आरोहण गर्न सबैभन्दा कठिन हिमाल मानिन्छ ।

माउण्ट केटुमा मानव पाइला टेकिएको ६७ वर्षयता हिउँदयाममा सयौं आरोहण दलले प्रयास गर्दा पनि सफलता पाएका थिएनन् । तर यसपटक नेपाली आरोहीले सफलतापूर्वक आरोहण गरी विश्व किर्तिमान बनाए,जसको अहिले विश्वभर चर्चा भइरहेको छ ।