अमेरिकाको राष्ट्रपति बाइडेनले आज शपथ लिदैँ, ट्रम्प कार्यक्रममा नजाने

अमेरिकाको राष्ट्रपति बाइडेनले आज शपथ लिदैँ, ट्रम्प कार्यक्रममा नजाने
बुधबार, माघ ७, २०७७

काठमाडौँ– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ।

अमेरिकामा २० जनवरीको दिन नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण लिने परम्परा छ। यो दिन निर्वाचित राष्ट्रपतिको स्वागत तथा निवर्तमान राष्ट्रपतिको बिदाइ गरिन्छ। लगातार दुईपटक निर्वाचित भए केवल स्वागत मात्र हुन्छ। यसपटक डेमोक्रेटिक पार्टीका जोसेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेनले आज राति १०स्४५ बजे ४६औँ राष्ट्रपतिका रूपमा शपथ लिनेछन्।

क्यापिटल हिलमा यसपटकको शपथ समारोह सामान्य हुनेछ। कोरोना भाइरसका कारण ८० प्रतिशत शपथ कार्यक्रम भर्चुअल रूपमा गरिन लागेको हो। गत ६ जनवरीमा रिपब्लिकन पार्टीका समर्थकले क्यापिटल हिलमा गरेको हिंसात्मक गतिविधिपछि राष्ट्रपतिको शपथ कार्यक्रम सामान्य ढंगले हुन लागेको अमेरिकन एजेन्सीहरूले जनाएका छन्।

अमेरिकाको राजधानी वासिङ्टन डिसीलगायत ५० राज्यमा सुरक्षा व्यवस्था निकै बलियो बनाइएको छ। शपथ कार्यक्रममा हिंसात्मक गतिविधि हुन सक्ने आशंकाका साथ सुरक्षा व्यवस्था कडा बनाइएको एजेन्सीहरूले जनाएका छन्।

राजधानी वासिङ्टनमा १५ हजार विशेष सुरक्षा सैनिक परिचालन भएको छ। साथै, राष्ट्रिय सुरक्षा फोर्सले पनि गस्ती गरिरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका समर्थक अझै पनि बाइडेनले धाँधली गरी जित निकालेको दाबी गरिरहेका छन्। तर, ट्रम्पले त्यसको कुनै पनि प्रमाण दिन सकेका छैनन्।

बाइडेनको शपथमा राष्ट्रपति ट्रम्प सहभागी नहुने भएका छन्।