अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ
बुधबार, माघ ७, २०७७

काठमाडौं – आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष बताउँदै ठगी कार्यमा संलग्न एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे घर भई हाल काठमाडौं महानगरपालिका–७ मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापा छन् ।

उनलाई मंगलबार काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको महाशाखाले जनाएको छ । अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका पठाइदिने भन्दै थापाले एक व्यक्तिसँग १५ लाख लिई ठगी गरेको महाशाखाको भनाई छ ।

थापालाई ठगीसम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।