‘केटू’ हिमाल आरोहण गर्ने आरोहीलाई काठमाडौंमा स्वागत

‘केटू’ हिमाल आरोहण गर्ने आरोहीलाई काठमाडौंमा स्वागत
मङ्लबार, माघ १३, २०७७

काठमाडौं – विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएर स्वदेश फर्किएका १० नेपाली आरोहीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहले सो हिमाल आरोहणमा कीर्तिमान कायम गरेका हुन् ।

उनीहरु पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो आठ हजार छ सय ११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् ।

आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको आरोही टोलीले सघाएको थियो ।

उनीहरूलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायत पर्यटन क्षेत्रका संस्थाको सहभागितामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत तथा सम्मान गरिएको छ ।