महिला लिग फुटबल : पुलिस र वालिङले बराबरी खेल्दै अंक बाडे

महिला लिग फुटबल : पुलिस र वालिङले बराबरी खेल्दै अंक बाडे
मङ्लबार, माघ १३, २०७७

काठमाडौं-काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा उपाधि दाबेदार नेपाल पुलिस क्लबले वालिङ नगरपालिकासँग बराबरी खेल्दै अंक बाडेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले स्याङ्जाको वालिङ नगरपालिकासँग एक एक गोलको बराबरी खेलेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ दुबै टोलीले गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता भने वालिङले बनाएको थियो । विदेशी खेलाडी मिथो रुथले खेलको ५३औं मिनेटमा गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन ।

उनले एकल प्रयासमा डिबक्स भित्रबाट गोलरक्षक उषा नाथलाई बिट गर्दै गोल गरेकी थिइन ।

पुलिसविरुद्ध वालिङले तीन क्यामरुनी खेलाडी मैदान उतारेको थियो । तर, खेलको ६५औं मिनेटमा रेखा पौडेलले पुलिसका लागि बराबरी गोल फर्काइन ।

अमृता जैसीले उपलब्ध गराएको फ्रिकिक बलमा रेखाले गोल गर्दै पुलिसलाई हारबाट जोगाएकी हुन ।

खेलमा वालिङकी अमिशा कार्की प्लेयर अफ दि म्याच बनिन । यो बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोडेको छ ।

पुलिस तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

तर, दोस्रो खेलमा पुलिसले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६ शुन्य गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै वालिङको यो दोस्रो बराबरी हो । वालिङले ३ खेलमा २ अंक जोडेको छ ।

पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग एक एक गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा वालिङ आर्मी संग ७ शुन्य गोल अन्तरले पराजित भएको थियो ।