Mon Nov 28 2022
मुख्य खबर

अझै टुंगो लागेन मेलम्ची सुरुङको परीक्षण

काठमाडौँ– राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन ।

सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छरछैन भनी अध्ययन भइरहेका बताइएको छ । यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ ।

आयोजनाको दातृ निकाय एशियाली विकास बैंकको आग्रहमा आयोजनाले जर्मन विशेषज्ञ टोलीलाई बोलाएर सुरुङको परीक्षण गराइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

उनका अनुसार गत वर्ष असारमा सुरुङमा दुर्घटनापछि गेट निर्माण गरेको भारतीय कम्पनीले गेटको पुनः जडान गरिसकेको छ । आयोजनाले थप सुधारका केही काम पनि गरेको थियो । आयोजनाले सुधार गरेपछि पनि अझै कुनै समस्या छरछैन भनेर बुझ्न अन्तर्राष्ट्रिय कम्पनीलाई ल्याइएको उहाँले बताए । उनले भने, ‘समस्या छैन भनेर अन्तिम प्रतिवेदन आएपछि नै पुनः परीक्षणको काम अघि बढाइनेछ ।’

इटालियन कम्पनीले छिट्टै अन्तिम प्रतिवेदन बुझाउने भनेकाले लामो समय नलाग्ने सूचना अधिकारी पन्तले बताए । कम्पनीले यसअघि दिएको प्रतिवेदनमा साना–तिना सुधार गर्नुपर्ने भए पनि ठूलो समस्या नभएको जनाएको थियो । साना किसिमका समस्या देखिएमा त्यसलाई सुधारेर पुनःपरीक्षणमा जान समय नलाग्ने उहाँको भनाइ छ । उनले भने, ‘अरु सबै किसिमको तयारी भइसकेकाले यही महिनामा नै परीक्षण गर्न सकिनेछ ।’

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पठाइएकामा ३० असारमा दुर्घटना भएको थियो । त्यसपछि सो द्वार निर्माण गर्ने कम्पनीले त्रुटि सच्याउने काम गरेको थियो ।