Mon Nov 28 2022
खेलकुद

रोनाल्डोको दुई गोलमा युभेन्टसको विजयी 

एजेन्सी–  क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा युभेन्टसले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानलाई उसकै मैदानमा २–१ को ले पराजित गरेको छ ।

युभेन्टसले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित निकालेको हो । यस जितसँगै युभेन्टसले दुई साता अघि इटालियन सिरी ‘ए’ मा भोगेको २–० को हारको बदला लिन सफल भएको छ ।

मिलानोमा मंगलबार राति भएको खेलमा सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।खेलको नवौं मिनेटमा लोउटारो मार्टिनेजको गोलमा इन्टरले अग्रता लिएको थियो । उनले निकोलो बरेल्लाको पासमा गोल गरेका थिए ।

२६औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट युभेन्टस खेलमा फर्कियो । एस्ले योङले पेनाल्टी बक्समा जुवान कोर्डाडोमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै युभेन्टसलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा रोनाल्डो चुकेनन् ।

३५औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । मिलान स्क्रिनिएरको ब्याक पासमा गोलरक्षक समिर हान्डानोभिक र एलेसान्द्रो बास्टोनीबीच तालमेल नमिल्दा रोनाल्डोले फार पोस्टमा सहजै गोल गरेका थिए ।

४३औं मिनेटमा फेडरिको बर्नरडेस्चीको क्रसमा रोड्रिगो बेन्टानकरको प्रयासलाई गोलरक्षक हान्डानोभिकले बचाए । ५७औं मिनेटमा एलेक्सिस सान्चेजको फ्रिकिकमा गोलरक्षक जियानलुजी बुफोन बिट भएपनि मेरिह डेमिरले बललाई गोललाईन बाट क्लियर गर्दै इन्टरको बराबरी टारे ।

६८औं र ६९औं मिनेटमा सान्चेजले दुई सुवर्ण अवसर पाएपनि म्याथिज डि लेग्ट र गोलरक्षक बुफोनले बचाए । ७५औं मिनेटमा इभान पेरिसिसको क्रस पासमा निकोलो बरेल्लाको प्रयासमा बुफोन नै बाधक बने । ७८औं मिनेटमा पेरिसिसको प्रयासमा बुफोन नै बाधक बने । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–१ ले विजयी हुन सफल भयो ।