Wed Nov 30 2022
देश

प्रचण्ड-नेपाल समुहको हड्ताल भोली, ओली पक्षधरको र्‍याली आज (भिडियो रिपोर्ट)

पुष्कर खतिवडा
काठमाडौं – नेकपाको ओली समूह निकट राष्ट्रिय युवा संघले बुधबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बालकुमारीबाट निकालिएको र्‍यालीले सातदोबाटो, जावलाखेल, थापाथली, दरबारमार्ग, जयनेपाल, कमलपोखरी हुँदै नगर परिक्रमा गरेको थियो ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः

र्‍याली सुरुवात उपप्रधानमन्त्री इश्वर पोखरेलले रिवन काटेर गरेका थिए । उनले शुभारम्भ गरेपछि केपी ओलीको ठुलो तस्वीर राखिएको मोटर अघि अघि र यसको पछि मोटरसाइकल कुदेको थियो । ओलीको तस्वीर राखेको मोटरमा युवा नेता महेश वस्नेत उभिएका थिए ।

र्‍याली एयरपोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीहरुले सरकारले घोषणा गरेको निर्वाचनलाई स्वागत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीको पक्षमा नारा लगाएका थिए ।

नेकपाको ओली समूहले यही माघ २३ गते काठमाडौंको नारायणहिटी गेटमा सभा गर्ने तयारी गरेको छ । ओलीले असंवैधानिक र अलोकतान्त्रिक तबरले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेकपाको अर्काे खेमा प्रचण्ड-नेपाल समूह आन्दोलनमा छ । यसअघि माघ ९ मा प्रचण्ड-नेपाल समुहल गरेको शक्ति प्रर्दशनको टक्करमा ओली समूहले शक्ति प्रदर्शन गर्न लागेको हो ।

यता संवैधानिक निकायहरुमा भएको नियुक्ति विरुद्ध नेकपाको प्रचण्ड-माधव समूहले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेकी थिइन् ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड माधव समूहले आकस्मिक रुपमा देशब्यापी आम हड्तालको घोषणा गरेको हो ।